यहाँ यस्तै छ!
हामी महाकालीको डिलमा थियौं। एकै छिन आकाश उघ्रेको मौका छोपेर हतार हतार साझा सवाल रिकर्डिङ्ग गर्दै। लगातारको पानीले महाकालीको स्वर चर्को थियो।
“जब सम्म महाकालीमा पुल बन्दैन, तब सम्म यस्ता महिला क्रान्तीका कुरा नगरे नि हुन्छ।” प्रश्न सोध्ने पालो पाउनु भएको सहभागीले महिला अधिकार बिषयमाथिको छलफलको औचित्य माथि नै प्रश्न उठाउनु भयो। गडड तालीले सबै सहभागीले उहाँको समर्थन पनि गरे। तर एक छिनको अलमल पछि कार्यक्रम अरू नै प्रश्नहरू तर्फ लाग्यो।
मलाई भने किन हो पूलको कुराले घोच्न छोडेन। एकैछिन अघि राप्लाकी पार्वती रावतसँग पनि त्यसै वारेमा कुरा भएको थियो। त्यतिवेला देखि नै आँखा अगाडी तुइन नै घुमिरहेको थियो।
रावत भन्दैहुनुहुन्थ्यो, “बाँदरले जस्तो पेटमा आ-आफ्नो वच्चा चेपी तुइनमा झुण्डिएर घरी एउटा हातले बच्चा सम्हाल्दै अर्को हातले तुईन सम्हाल्दै आलो पालो गरि महाकाली तर्नु पर्ने अवश्था छ हाम्रो।”
पत्रकार मनोज बडुले केहि दिन अघि मात्र त्यसरी नदी पार गर्दै गर्दा एक जना महिला आफ्नो नावालकसँगै महाकालीमा झरेर विलाएको समाचार पनि सुनाउनु भएको थियो।
दार्चुला सदरमुकाम खलङ्गा माथिका झण्डै ११ गाविसका बासिन्दाको दैनिकी रहेछ यो।
“सुत्केरी हुनेवेला साह्रै नै गाह्रो हुन्छ। ठूलो बडेमानको पेट वोकेर कसरी तुईन चढी पारी जान सकिन्छ तपाईं नै भन्नुस त?” पार्वती रावतले प्रश्न गर्नु भएको थियो।
तर मैले केहि बोल्नु अघि रावत आफैंले नै जवाफ पनि दिनु भयो, “तर विकल्प पनि त छैन। नुन देखी सुन सम्म पारीनै लिन जानु पर्छ!”
मैले आफुलाई मन मनै प्रश्न गरे, कतै हामी नेपालीहरू यति धेरै सन्तोकी भएकैले सँधै यस्तो समस्यामा बसिरहनु परेको त होइन?
म काठमाडौं बस्छु। ५ दिनमा १ दिन, त्यो पनि केहि घण्टाको लागि पानी आउँछ। घरि घरि त महिनौं दिन सम्म पनि पानीको नाकमुखै देखिदैन । बिजुली आउनु भन्दा बढी जान्छ। ग्यास पाइदैन। सार्वजानिक यातायात कामै नलाग्ने छ। तै पनि हामी “यस्तै छ” भनेर चित्त बुझाउँछौ।
मानौं, ग्यास अभाव पुर्ति गर्नु राज्यको दायित्व नै होइन? पानी खान पाउनु हाम्रो अधिकार नै होइन? बिजुली पाउनु हाम्रो आवश्यकता नै होइन?
काठमाडौंका सबै बासिन्दाले हामीलाई पानी नियमित चाहिन्छ भनेर एक स्वरमा आवाज उठाउने हो भने, राज्यले कतिन्जेल पानी नदिइ रहन सक्छ? चाँहदा गर्न सक्दो रहेछ भन्ने कुरा उदाहरण थुप्रै छन। भर्खरै सार्कको लागि रंगिएको काठमाण्डौं नै सम्झौं। ट्राफिकले मापासे माथि गरेको कडाइ हेरौं। सकिंदो रहेछ त?!
काठमाडौंलाई मेलम्चीको पानीले नुहाईदिन्छु भनेका थिए। मेलम्ची खानेपानी आयोजना शुरू पनि भयो। तर कहिल्यै सकिएन। त्यस्तै भएको रहेछ दार्चुलामा पनि!
दार्चुला तिनंकर सडक आयोजनाको कामै थालिसकेको झण्डै ७ वर्ष हुन लागेछ। ५ जना त हाकीमनै फेरि सकेछ आयोजनाले। तर धिमा गतिको कामले अहिले सम्म गति लिन सकेको छैन। गएको सात वर्षमा लगभग हरेक वर्ष जस्तो करौंडौंमा बजेट फ्रिज भईरहेको छ।
१३० किलो मिटरको त्यो सडक बने दार्चुलालाई तिब्बतसम्म जोड्न सकिन्थ्यो। सवारी साधन गुढ्न थाले त्यस भेगका जनतालाई अहिले खेपिरहेको सास्तीबाट केही राहत त मिल्थ्यो नै भने व्यापार गर्न चाहनेहरूका लागी तिब्बतसँग को दुरी घट्थ्यो। पवित्र धार्मीक स्थल मानसरोवर जानका लागी पनि सबैभन्दा छोटो बाटो हुन्थ्यो । पर्यटनबाट पनि लाभ लिन सक्थे रेचन दार्चुलाबासीले। अझ भनौ, सिँगो देशलाई नै फाईदा पुग्थ्यो।
तर दुई वर्ष अघिको बाढिले बगाएको दार्चुला सदरमुकामको संरचना समेत अझै बन्न सकेको रहेन छ। अरूको त के कुरा भत्केको अस्पताल नै पनि बनेको रहेन छ।
अर्को बाढीको त्रास त्यस्तै छ। “कम्तीमा अवको तिन वर्ष सम्मनै हामी ढुक्क साथ बस्नुस भन्न सक्दैनौ,”महाकाली नदी नियन्त्रण आयोजनाको प्रमुख महेन्द्र बडुले भन्नुभयो, “के गर्ने प्रकृया पुर्याउदा पुर्याउदै एक वर्ष वित्यो, पछि ठेकेदार समयमा आईपुगेन, अहिले काम सुरु भको छ – यस्तै छ।”
“यस्तै छ”, हाम्रो राष्ट्रिय थेगो! त्यहाँ फेरि दोहरियो! नदोहोरियोस पनि कसरी? “यहाँ यस्तै त छ।” गुनासो गर्न पनि छोड्दैनौ। चित्त पनि बुझाई हाल्छौं।