साझा सवाल गर्दाका दर्जन घटना
१. यो तेरो कार्यकर्ता हो ?
गिरिजाप्रसाद कोइरालाको निधनपछि शोकमा डुबेको देश बिस्तारै तंग्रिन थालेको छ। कोइरालाका ’boutमा मेरो डायरीमा करिब साढे दुई वर्ष पहिले २३ कात्तिक ०६४, शुक्रबार लक्ष्मीपूजाको मितिमा यस्तो लेखिएको थियो- ‘मलाई थोत्रो कुर्सीमा बस्ने रहर छैन। यो कुर्सी फेर्न पाए शान्ति हुने थियो। कोइरालाले पदलोलुपता नभएको देखाउन त खोजे, तर उनको राजनीतिक विगतले त्यस्तो देखाउँदैन।’
नेता कोइरालाको निधनसँगै मैले सम्झेँ- सर्वसाधारणले भरिएको विराटनगरस्थित कोइरालानिवास। साझा सवालको पहिलो अंकका लागि अन्तर्वार्ता दिँदै गर्दा पाँचौँपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला सत्तामोह त्याग्ने तयारीमा रहेको संकेत गर्दै थिए। मधेसको चर्चा भर्खर सुरु भएको थियो । तर, ती बयोवृद्ध नेताले ‘मधेस’ आफूले नचिनेको बताए। मधेसको मुद्दा छिमेकी देशबाट प्रोत्साहित थियो भन्ने कोइरालाको बुझाइ थियो। अन्तर्वार्तामै उनले भनेका थिए, ‘भारतको सहयोग भए तराईको अवस्था एक मिनेटमा ठीक पार्न सक्छु।’ कोइरालाको त्यो भनाइ अन्तर्वार्ता रेकर्ड भएको केहीबेरमै प्रमुख समाचार बनेर रेडियो र टिभीमा बज्न थाल्यो।
प्रधानमन्त्रीलाई जनताले सीधै प्रश्न सोध्ने कार्यक्रम त्यो पहिलो थियो। मेरा लागि पनि त्यो एउटा अवसर थियो। कोइराला एकपटकमा एउटा प्रश्नको मात्र जवाफ दिन सक्थे। उमेरका कारण पनि हुन सक्छ, धेरै प्रश्न आए भने उनी अलमलिन्थे। महिला र केटाकेटीका प्रश्नमा उनी विशेष रमाउँथे। फूलसरी चौधरीले गाउँमा अपहरणलगायतका घटना हुने गरेकाले त्यो रोक्न के गर्नुहुन्छ भनेर सोधिन्। कोइरालाले छोरी सुजातातिर हेरेर, ‘तेरो कार्यकर्ता हो?’ भन्ने संकेत गरे। कोइराला पछाडि बसेकी सुजाता मुस्कुराइन् मात्र।
करिब २० मिनेट कार्यक्रम रेकर्ड भएपछि उनले असजिलो महसुस गरे। आराम लिन चाहे। त्यसपछि हामीले करिब १२ मिनेट रेकर्ड रोक्यौँ। त्यसबीचमा उनले अक्सिजन लिए। फेरि हटसिटमा बसे र जवाफ दिए। उनका प्रायः जवाफमा संविधानसभा चुनाव नै सबै कुराको समाधान हो भन्ने सार थियो।
२. प्रचण्डको सुरक्षा
विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको ठीक एक वर्षपछि मैले प्रचण्डलाई पोखराको होटल ग्रिनपिसमा भेटेँ। ६ मंसिर ०६४ को बिहान सुरक्षाका केही घेरालाई पार गरेपछि प्रचण्डसँगको भेट सम्भव भयो। सुरक्षा घेरा पूर्णतः पार्टी लडाकुको थियो। त्यो भेट एकप्रकारको शिष्टाचार थियो। तर,मलाई याद दिलाउने कुरा चै विद्रोही नेताको खानपानको व्यवस्था र कार्यकर्ताको हुल थियो। बाहिर लामो लाइन क्षेत्रीयस्तरका र त्यसभन्दा माथिका कार्यकर्ताको थियो। पल्लोपट्टि टहरोमा मैले पहिले नै चिनेका केही कार्यकर्ता खाना पकाउने काममा थिए। होटल त्यस दिनका लागि पूरै बुक गरिएको रहेछ। आफ्नै कार्यकर्ताको सुरक्षा घेरा, अनि कार्यकर्ताले नै पकाएको खाना। प्रचण्डको सौख त यो पक्कै नहुनुपर्ने। विद्रोही नेताको सुरक्षा सतर्कता हुनु जायज हो। तर, त्यति धेरै सतर्कता मैले अनुमान गरेको थिइनँ।
३. नेपालको प्वाल परेको मोजा
माधवकुमार नेपालसँग मैले अहिलेसम्म तीनपटक कार्यक्रम तयार पारेँ। पहिलो पार्टी महासचिव भएकै बखत, दोस्रो चुनाव हारे पनि माओवादीको अनुरोधमा संविधानसभा संवैधानिक समितिका प्रमुख भएका वेला र तेस्रो प्रधानमन्त्री भएपछि।
माधव नेपालसँगको भेटलाई लिएर ९ मंसिर २०६४ मा मेरो डायरीमा यस्तो लेखिएको रहेछ- कालो चिया लिएर म नेपाललाई पर्खिरहेको थिएँ। कोठाको स्वरूप हेर्दा सानोतिनो भेटघाटका लागि उपयोग हुने देखिन्थ्यो। कोठा सामान्य थियो। सँगै जोडिएको ट्वाइलेटको ढोका खुला थियो, र त्यहाँबाट चर्को गन्ध आइरहेको थियो। भित्तामा केही तस्बिर थिए, देशकै ’boutका ती तस्बिर तत्कालीन ‘शाही नेपाल वायुसेवा निगम’ ले उपहार दिएका रहेछन्। गणतन्त्रका लागि त्यत्रो आन्दोलनको नेतृत्व गरेको दलको कार्यालयमा ‘शाही’ शब्द सुहाएजस्तो लागेन मलाई। हिमाल, पहाड र हरियाली दृश्यबाहेक मनमोहन अधिकारीको मात्र तस्बिर थियो। मदन भण्डारीको ‘जबज’ बोकेर हिँडेको पार्टी उनकै तस्बिर चैँ थिएन। करिब दस मिनेटपछि नेपाल आए। र, दलको मिटिङदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई भेटेको कुरा सुनाए। ती कुरा हामीलाई सुनाउनु सायद आवश्यक थिएन। कुराकानीका क्रममा उनले जुत्ता खोले। नेताज्यूले त प्वाल परेका मोजा पो लगाएका रहेछन्। सोचे उनी पनि आखिर नेपाली नागरिक नै हुन्।’
४. झन्डै चैट भएको
०६५ चैतको अन्तिम साता प्युठान यात्रामा थियौँ। देशको पश्चिमदेखि यात्रा सुरु गरेर पूर्व पुग्ने योजना थियो। नयाँ संविधानका ’boutमा जनमत बुझ्ने र कार्यक्रमको पिआर बढाउने योजना साथ नेपालमा रहेको बिबिसीको टोली नै महेन्द्रनगरदेखिको यात्रामा थियो। प्युठान जान पूर्व-पश्चिम सडक मार्गलाई भालुवाङमा छाडेर उकालो लाग्दा साँझको पाँच बजिसकेको थियो। भालुवाङबाट प्युठानसम्मको झन्डै ७० किमि धुलौटे सडक यात्रा बाँकी थियो। साँझ त्यो रुटमा मोटर नचल्ने रहेछ। त्यसैले सडकमा रातोमाटोमा पानी घोलेर छाडिएको रहेछ। भालुवाङबाट केही किलोमिटर पार गरेपछि रातोमाटोमा पानी घोलिएको चिप्लो घुम्ती पार गर्न खोज्दा बस अगाडि बढ्नुको सट्टा झन् पछि हट्यो। साँघुरो बाटोबाट बस खोलामा खस्नै लाग्यो। धन्न बस सहायकले पछाडिको चक्कामा ढुंगाको ओत दिन भ्याएछन्, र रोकियो। दुर्घटना टरेकोमा सबैले लामो सास फेर्यौँड।
५. कोसी बगरमा मरुभूमिको रात
बिबिसी यात्राकै क्रममा महेन्द्रनगरबाट कोसीसम्म आइपुग्दा ०६६ को नयाँवर्ष सुरु भइसकेको थियो। कोसी नदीले काटेको सडकमा बालुवा र ग्य्राबेलको मात्रै भए पनि मोटर गुड्न सक्ने ट्रयाक तयार भएको थियो। कोसी ब्यारेज तरेर अघि बढ्दा त्यो ठाउँ बालुवाको मरुभूमि जस्तो देखिन्थ्यो, जताततै बालुवामात्रै। बालुवाको बीचमा कतै-कतै मानिस हिँडिरहेका देखिन्थे। देशभित्र त्यस्तो मरुभूमि देखियो भन्दै साथीहरू फोटो खिच्न थाले। केहीबेर अघिसम्म पश्चिममा देखिएको कालो बादल एक्कासि मडारिएर आयो। बादलभन्दा पहिले हुरीको मुस्लो पस्यो। हुरीले बालुवा उडाएर ल्यायो। नेपाली सेनाका सुमन खरेलको चस्मा उडायो। मान्छे नै उड्नेगरी बतास आएपछि बस पनि रोकियो, त्यसपछि केहीबेर अन्धकार छायो। रातको जस्तै अन्धकार भयो। हावाको जोडमा मोटर लच्किन थाल्यो र छतको एउटा भाग उडाएर लग्यो। अब बसभित्रै हुरी र पानी छिर्न थाल्यो। सबै त्रसित भयौँ, कतै बस नै पल्टाइदेला भनेर। बस बाहिर निस्कन त झनै मिल्दैन। मान्छे उडाउने हावा चलिरहेको छ।
करिब २० मिनेटपछि हावा र पानी बन्द भयो। बसभित्र पनि एक-अर्कालाई समातेर र छाता ओढेर कोसी बगरमा बाँचियो। बाहिर निस्किएपछि एकजना साथीले भन्यो, ‘मैले नसमातेको भए बस पल्टिन्थ्यो।’ बिचरा ऊ आफै भने पानी र हुरीले चुटेर रुझेको बिरालो जस्तो लगलग काँपिरहेको थियो।
६. जातीय राज्यको सन्त्रास
इटहरी र त्यहाँबाट इलामसम्मको यात्रा थुप्रैपटक गरेँ। तर, ०६५ चैतको पहिलो साता पाँचथरको फिदिम पुग्दा जातीय राजनीतिको ताप पहिलोपटक अनुभव गरेँ। पहिचानको राजनीतिको उग्र रूप देखेँ। पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्चको नाममा नेपाललाई छिमेकी राज्यको दर्जामा सम्झौता गर्न अपिलसहितको पर्चा फिदिम बजारभरि छरिएका थिए। ‘लिम्बूवानविरुद्धमा बोल्ने अधिकार कसैलाई छैन। जसले बोल्छ उसलाई यमलोक पुग्नुपर्नेछ।’ पर्चामा लिम्बूवानलाई स्वतन्त्र राज्य बनाउने उल्लेख थियो। संघीय लिम्बूवान राज्यपरिषद्को नाममा बजारमा अर्को पर्चा पनि थियो। ती पर्चामा १८१४ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले लिम्बूवानसँग गरेको सम्झौता राजतन्त्र समाप्त भएकाले पुनर्ब्याख्या हुनुपर्ने माग थियो। त्यसको लुकको अर्थ पुरानो किपटप्रथा लिम्बूको हातमा आउनुपर्छ भन्ने थियो। सर्वसाधारण लिम्बूमा पनि त्यही बुझाइ थियो- अब त्यहाँको जमिनको हालिमुहाली लिम्बूले नै गर्नेछन्। त्यहाँ सानो आमसभा भयो म पुगेको भोलिपल्ट। त्यस सभामा मैले पहिलोपटक सुनेँ ‘बाहुनको नाक काटिन्छ, आलो रगत चाटिन्छ’ भन्ने नारा।
साँझ पाँचथर टाइम्सका सम्पादक प्रेम ओझासँग भेट भयो। त्यहाँका बाहुन-क्षेत्री समुदायका सदस्यको चिन्ता उनले सुनाए। ती समुदायका मानिस मुख खोल्न सक्ने अवस्थामा थिएनन्। नजानिँदो भयमा दिन बितिरहेको थियो।
पाँचथरको त्यो अवस्था देशको सम्भावित खतराको संकेतजस्तो मलाई लागेको थियो। केही दिनपछि इलाम र इटहरीमा पनि मैले त्यस्तै अभिव्यक्ति सुनेँ। त्यही अभिव्यक्ति फेरि सुन्दा झन् चिन्ता लाग्यो। इटहरीको एउटा कार्यक्रममा इटहरी क्षेत्र मधेस राज्यभित्र हुनुपर्छ भन्ने मधेसी सहभागीको विरोधमा सम्भवतः जातीय राज्य चाहिन्छ भनेर तर्क राख्ने अज्ञात सहभागीले ढुंगा प्रहार गरे। गलत ठाउँमा मार परेकाले कसैलाई चोट लागेन। तर, त्यो संकेत गम्भीर थियो। त्यसअघि इलाममा केही तन्नेरी र स्कुले ठिटाले जिप रिजर्भ गरेर जातीय राज्य माग गर्दै बजार बन्द गराउँदै हिँडेको पनि देखियो। भुसको आगोजस्तै फैलँदै गरेको जातीय राज्य मागको नारा राज्य पुनर्संरचना हुँदा कसरी समाधान हुन्छ होला म पर्खिरहेको छु।
७. बन्दको यात्रा
६ चैत ०६५ हामी इलाममा बिहानको खाना खाएर फर्किँदै थियौँ। स्ववियु चुनावमा समानुपातिक चुनावी प्रणाली लागू गर्नुपर्ने भन्दै जातीय समूहनिकट विद्यार्थीले पूर्व बन्द गरेका थिए। हामीलाई पनि त्यही दिन विराटनगर फर्कनु थियो। बिबिसीको नामलाई प्रदर्शनकारीले पक्कै पत्याउलान् भनेर परेको बाटैमा बेहोर्ने सुरमा अघि लागियो। चारआलीसम्म ठीकै थियो। बाटो खाली थियो । गाडीको गति तेज थियो । धुलाबारी चोक आइपुगेपछि चोकमा मानिसको हुल भेटियो किन त्यस्तो हुल लागेको थाहा पाउन सकेनौँ । बिहान इलाममा तन्नेरीहरू टाउकोमा रातो रुमाल बाँधेर र्या लीमा थिए। विवेकभन्दा पनि आवेशमा कुदिरहेका ती युवाहरू भन्दै थिए, ‘बाहुनको चुच्चो नाक काटिन्छ, आलो रगत चाटिन्छ।’ जातीय नाराको पराकाष्टा थियो त्यो।
धुलाबारी चोकनेर पुगेपछि एउटा केटोले सडकबीचबाट हात उठायो। बस रोक्नुपर्ने उसको संकेत थियो । स्थानीय रुटमा चल्ने माइक्रोबस भाडामा लिएकाले हामी ढुक्क थियौँ गुरुजीप्रति। चिनेकै होलान् भन्ने हामीलाई लागेको थियो। तर, परिस्थिति उल्टो भयो। अघिल्लो लाइनमा उभिएका अर्का ठिटोले लामो घोचो बजारे। घोचो अगाडिको हुटमा छोएर भुइँमा बजारियो। सिसा फुट्न पाएन। यसरी रोकिन नपाउँदै अर्का तन्नेरी गुरुजीको घाँटी समात्न आइपुगे। त्यसले गुरुजीलाई एक चड्कन हान्न भ्याए। स्थिति एकछिनमा डरलाग्दो भयो। पछि थाहा भयो, स्ववियु चुनावमा समानुपातिक हुनुपर्ने मागसहितको आन्दोलनमा धुलाबारी क्याम्पसका विद्यार्थी मनिल तामाङको मृत्यु भएको रहेछ। र, आक्रोशित विद्यार्थीले सडक बन्द गरेका रहेछन्। त्यो चोकमा सुरक्षाकर्मीको नामोनिसाना थिएन। तैपनि थोरै मात्र तल-माथि परेको भए तन्नेरीहरूको हुलले आगो लगाउन पनि सक्थे भन्ने सोच्दा मन अहिले पनि चिसो भएर आउँछ।
८. महिलाको स्वरुप
गतसाल मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन म सुदूरपश्चिम दार्चुला पुगेको थिएँ। राजधानीदेखि निकै टाढा भएकाले त्यहाँको खबर प्रायः आउँदैन। त्यस दिन मैले दुईवटा अनौठा घटना देखेँ। खलंगा बजारमा सौका समुदायको बाक्लो बस्ती छ। दार्चुला जिल्ला उत्तरपट्टि ब्यासी क्षेत्रमा सौका समुदायको बसोबास छ। यो समुदायको एउटा ठूलो हिस्सा भारततर्फ पनि बसोबास गर्छन्। डोरबहादुर विष्टदेखि हर्क गुरुङसम्मका समाजशास्त्रीका पुस्तकमा ती समुदाय प्रकृतिपूजक हुन् भनेर उल्लेख छ। उनीहरूको धर्म भनेको काठमा मस्टालाई पूजा गर्नु हो। तर, त्यो (महिला दिवसका दिन) दिन त्यहाँ सौका समुदायका महिला ऐतिहासिक ग्रन्थमा उल्लेख भएअनुसारको परिधानमा झाँकीसहित उपस्थित थिए। तरवार र ढाल लिएर वीर योद्धाको जस्तो पहिरन लगाएका थिए। त्यस्तो पहिरनमा महिला पनि आक्रामकजस्ता देखिन्थे। महिलालाई शक्तिको प्रतीक मात्र मान्ने प्रचलनमा त्यसको प्रतिविम्ब नै देख्न पाउँदा मलाई रमाइलो लाग्यो। त्यसै दिन साँझा खलंगा बजारमा कुनै एउटा परिवारमा बिहेभोज छ भन्ने खबर साथीले सुनायो। पछि थाहा भयो त्यस दिन एउटै बेहुलाको दुईवटी बेहुली भित्र्याइने कार्यक्रम रहेछ। घरमा बाबुआमाले मगनी गरेको अर्की केटी पनि रहेछ। दुवै बेहुली एकै दिन भित्र्याउने तयारी भइरहेको थियो। त्यहाँको सामाजिक चलनअनुसार त्यो सम्भव छ रे। म भने अचम्ममा परेको थिएँ। बिहान नारीको वास्तविक शक्तिको स्वरूप देखेको थिएँ, साँझ त्यही नारी अबलाका रूपमा देखेँ।
९. चर्पीसँग रिस
रारालाई अप्सरासँग तुलना गर्ने धेरै छन्। राजा महेन्द्रले त सुन्दर कविता पनि सिर्जना गरे राराकै ’boutमा। राराको नीलो सुन्दरतामा जोकोही रमाउन सक्छन्। तर, राराभन्दा केही कोश तलको दुर्दशा भने राजा महेन्द्रले आठ घन्टा लगाएर ताल वरिपरि घुम्दाको वेलादेखि अहिलेसम्म पनि उस्तै छ। ०६५ माघताका मुगु सदरमुकाम गमगढीबाट चाल्सा जाँदै थिएँ। राराताल रहेको ठाउँबाट तीन-चार घन्टा हिँडेपछि गमगढी पुगिन्छ। गमगढीबाट केही तल हिँडेपछि कार्कीबाडा आइपुग्छ। कर्णालीमा गाउँलाई बाडा भनिन्छ। कार्कीबाडा आइपुग्न लाग्यो भन्ने संकेत मानिसको दिशाले दियो। जति-जति गाउँ नजिक आइपुग्यो, त्यति बाक्लो फोहोर। बाटो पूरै ढाकिएको थियो। दुर्गन्धले सास फेर्न कठिन भयो। टेक्ने ठाउँ पाउनै मुस्किल। मान्छेको दिसा पनि धेरै भएपछि कुकुरले पनि खाइसक्दो रहेनछ। बारी बाँझै राखे पनि खाद्यको चामलले रक्सीसमेत बनाउन पुग्ने त्यहाँ गैरसरकारी संस्थाले बनाइदिएको ट्वाइलेट भने कोदोको नल राख्न प्रयोग भएको थियो। लाग्यो- मानिसलाई गैरसरकारी संस्थाले परनिर्भरता बढाएको रिस छ। त्यसैले चर्पी प्रयोग गर्दैनन् उनीहरू।
१०. मध्यरातमा सिमाना क्रस
०६५ चैतको कुनै दिन हुनुपर्छ। पूर्वको कुनै ठाउँमा कार्यक्रम सकेर हामी विराटनगर बास बसेका थियौँ। साँझ लोडसेडिङमा बत्ती निभेपछि होटल पुगेकाले कुन होटल र कहाँनेर भन्ने मेसो पाएनौँ। साँझको खाना होटलबाहिरै खाने भनेर बाहिर निस्क्यौँ। अन्धकारमा केहीबेर हिँडेपछि उज्यालो ठाउँ पुगियो। त्यही एउटा होटलमा खाना खाइसक्दा रातिको १० बजिसकेको हुनुपर्छ। बाहिर सडक सुनसान थियो। दिनभरिको थकाइ र सहकर्मीको गफमा समय कति भयो ख्याल भएन। खाना खाएर होटलबाहिर निस्कँदा बत्ती आइसकेको रहेछ। पान पसलमा मीठा पान खाएर रातको खुला सडकमा गफिदै अगाडि बढियो। कहाँबाट निस्क्यौं कसैलाई याद भएन। गफैगफमा करिब ३० मिनेट हिँडेपछि एक्कासि पुलिसको चर्को आवाज सुनियो। सबै एकछिन स्थिर भयौँ। ‘कहाँ जान लागेको ?’ पुलिसले सोध्यो। तिनीहरू नेपाली पुलिस थिए। हामी होटल जान लागेको बतायौँ । अगाडि त नेपाल-भारत सीमा जोगबनीको बोर्डर पो रहेछ। रातको वेला सीमा नाघ्न लागेको सुरक्षाकर्मीले हल्ट गरेको रहेछ। होटल भुलेको बताएपछि पुलिसले आफ्नै गाडीमा हालेर हामीलाई होटलसम्म लगिदियो । होटलमा पुगेपछि सम्झेँ- कस्तो सिमाना राति रक्सिएर भुलमा पनि सजिलै पार गर्न सकिने।
११. पुलिसको मान्छेलाई सिट नदिँदा विशेष सुरक्षा योजना लागू
०६६ को माघ महिना। माओवादीका अप्रमाणित लडाकुको शिविर छाड्ने क्रम धमाधम चलिरहेको थियो। शिविर छाड्न लागेका अप्रमाणित लडाकुको आफ्नै भनाइ कार्यक्रममा समेट्न हामी माओवादी सेनाको पाँचौँ शिविर रहेको रोल्पाको दहवनबाट कार्यक्रम तयार पारेर फर्कँदै थियौँ। दहवनबाट घोराहीसम्म करिब ३५ किमि कच्ची बाटो र त्यसपछि नेपालगन्जतिरको सडक यात्रा त्यति सजिलो थिएन। सबै थाकेका थियौँ। कार्यक्रममा भाग लिएर हामीसँग फर्किरहेका एमाले सभासद् तथा सेना समायोजन प्राविधिक समितिका सदस्य पूर्वसहायकरथी गोपालसिं बोहरा पनि थिए। नेपालगन्जनजिक शमशेरगन्ज आइपुगेपछि गृहमन्त्रीको विशेष सुरक्षा योजनाअनुसारको सशस्त्र प्रहरीले चेकिङ गरिरहेको थियो। केहीबेरको लाइनपछि हाम्रो पालो आयो। सशस्त्रको एकजना जवान गाडीभित्र पसे। पछाडिसम्म पुगेर के-के सामान छ भन्दै फर्किए। हामी एकजना सहकर्मीलाई बाटोमा पुलिस चेकिङले संकटकालको झझल्को दिएछ र फोटो खिचे। ती जवान बाहिर निस्केपछि एकजना महिला लिएर फेरि भित्र पसे। उनले ती महिलाका लागि नेपालगन्जसम्म लिफ्ट मागे। भाडामा लिएको गाडी, बाटोमा केही भयो भने बिमादेखि कतिपय कुरामा झन्झट हुने सम्भावनाले आफ्नै टिमबाहेकलाई नचढाउने चलनअनुसार अर्को बसमा लिफ्ट खोज्न ती जवानलाई सल्लाह दियौँ। सायद त्यो कुरा जवानलाई मन परेन। ओर्लिएको केहीबेरमा अर्का जवान फेरि आयो। त्यसपटक चैँ फोटो खिच्ने को हो? भन्दै निहुँ खोज्ने तयारी गर्योए। तस्बिर लिनुको सामान्य घटना थियो। बसभित्र खिचिएको तस्बिरमा सुरक्षा संवेदनशीलता जोडिनुपर्ने कारण थिएन। हाम्रो मोटरलाई साइडमा राखियो। फोटो डिलिट गर्नुपर्ने र माथिको आदेश नभई जान नपाउने बताइयो। नेपालगन्जबाट काठमाडौंको फ्लाइट छुट्न एक घन्टा मात्र बाँकी थियो । गोपालसिं बोहराले आफू सभासद् भएको र सुरक्षाको हिसाबले संवेदनशील कुनै तस्बिर नखिचिएकाले बाटो छाडिदिन आग्रह गरे। बोहराको परिचय-पत्रलाई त ती सुरक्षाकर्मीले कुनै स्कुले विद्यार्थीको कार्ड जस्तो ठानेछन्। केही वास्ता गरेनन्। हामी सबैलाई भित्र बोलाइयो। पुलिसको निगरानीमा बसबाट ओर्लेर जाँदै गर्दा एकजना साथीले राजधानी फोन गरे। सशस्त्रकै कोही ठूलै मान्छे चिनेका रहेछन्। ती ठूलो मान्छेसँग हाम्रो अवस्था बताएपछि तिनले डयुटीमा खटिएका जवानसँग पनि कुरा गरे। सायद ती जवानले हल्का गाली पनि पाएको हुनुपर्छ, बित्थामा अरूलाई दुःख दिएकोमा। त्यसपछि उनले बोहरालाई सलाम गरे र हामीलाई जान दिइयो। ती साथीले राजधानीको ठूलो मान्छे नचिनेको भए हामीले त्यस दिनको फ्लाइट त छुटाउनैपर्थ्यो पुलिसको दुई-चार लात पनि खान पर्थ्यो होला।
१२. झरीको पानीमा साझा सवाल
खाँदबारी संखुवासभा २०६६ असार तेस्रो साता। वर्षेझरी सकिएको थिएन। तुम्लिङटारको रातोमाटो चप्पलमा बोकेर खाँदबारी पुग्दा साँझको झुल्केघाम पारि भोजपुरपट्टि दिङ्लाको डाँडाबाट ओझेल परिसकेको थियो। रुद्राक्ष व्यापारको चहल-पहल थिएन। तर, दाना बेचेर कमाएको पैसाले अधिकांश मानिस धनी भएका छन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो। खाँदबारीका पसलमा चामल अभाव थियो। तर, बियरको स्टक प्रशस्त थियो। प्रत्येक होटलको अगाडि बियरको खाली बोतलको रास देख्न पाइन्थ्यो। सम्पन्नताको नयाँखाले परिवेश देखिरहेको थिएँ देशभित्रै।
राति बेस्सरी पानी पर्यो। कर्कटपाताको छानामा ठोक्किएको पानीको धाराले सँगैका साथीको आवाज सुन्न पनि मुस्किल पर्थ्यो। स्थानीय उत्पादन’सुरुवा’ को तापमा झयालबाट आएको बाछिटाले असारको गर्मीलाई ओसिलो पारेको थियो। त्यसको भोलिपल्ट कार्यक्रम रेकर्ड गर्नु थियो। रातभरिको झरीले केही चिन्तित पार्योो, कस्तो होला भोलिको कार्यक्रम।
बिहान बादलको पहाडबाट केहीबेर घाम देखियो। आकाश खुला भएर आयो। कुहिरो बिस्तारै फाट्न थाल्यो। खाँदबारी बजारको माथिल्लो छेडमा हिमाली स्कुलको अग्लो डाँडामा कार्यक्रम तयार पार्ने साथीहरूले निधो गरे। कुहिरो फाटेको वेला अरुण नदी नागबेलीजस्तो देखिन्थ्यो। अरुणको बायाँपट्टि तुम्लिङटार लमतन्न भएर बसेको थियो। पारि भोजपुरको दिङ्ला र देउराली पातलो कुहिरोको छायामा हराएको थियो। करिब १५०० मिटरको स्कुल डाँडामा कार्यक्रम रेकर्ड सुरु भयो। साहित्यकार आहुति, कांग्रेस नेता मनमोहन भट्टराई र एमालेकी सभासद् भगवती चौधरी थिए- अन्तर्वार्ताको हट सिनमा। आरक्षणको मुद्दा थियो छलफलको विषय। पहिलो खण्ड सकियो। दोस्रो खण्ड सुरु भयो।
उत्तरपट्टि मकालु हिमालबाट बादलको आँधी बिस्तारै स्कुल डाँडातिर बग्न थाल्यो। एक्तेनमा सिमसिम पानी पर्योप। साथीहरू बिजुलीबाट चल्ने सामान जोगाउन छाता ओढाउन थाले। क्यामेरा चिनियाँ छाताले छोपियो। केही सामानलाई प्लास्टिकले जोगाइयो। केहीबेरपछि पानी हट्यो। कार्यक्रम फेरि सुरु भयो। करिब दस मिनेटपछि फेरि पानी पर्योे। रेकर्ड रोकियो। फेरि सुरु भयो। तेस्रोपटक सानोतिनो भल बग्नेगरी पानी पर्योस। पानीबाट सामान जोगाउन मुस्किल होला जस्तो भयो। सहभागी करिब ८० जना थिए। केही छातामुनि ओत लागे। कोही अलि परको सानो स्कुल भवनको पालीमा ओत लागे। लोकेसनको लोभमा खुला ठाउँमा कार्यक्रम तयार पार्ने जोखिम मोल्दा कार्यक्रम नै नबन्ने हो कि भन्ने चिन्ता लाग्यो। करिब १० मिनेट बाक्लो पानी परेपछि रोकियो। र, कार्यक्रम पुनः सुरु भयो। चौथोपटक पानी पर्नुअघि यसपटक चै हामीले कार्यक्रम सक्यौँ। हतारै भए पनि काम फत्ते गर्न पाएकोमा खुसी लाग्यो। हिलो बाटोले कुनै मोटर नपाएपछि करिब चार घन्टा लगाएर भरियाको सहयोगमा सबै सामान तल तुम्लिङटार ओराल्नुपरेको थियो। फर्किँदा भरतमोहन भट्टराई भन्दै थिए, ‘पोलिटिकल एलिटहरू शासन गर्नमात्र चाहन्छन्। त्यसैले नयाँ काम गरेर सुधार्ने योजना उनीहरूमा हुँदैन।’ उनको कुरामा भुल्दा म चैँ रातोमाटोमा परेर चिप्लिएको थिएँ।