राज्यले हामीलाई के दिएको छ ?

बिबिसी मिडिया एक्सनको रेडियो र टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि विभिन्न ठाउँमा जाँदा दुखीजन हुन् कि सुखीजन धेरैको मुखबाट बोलिने एउटा वाक्य यही हो ‘राज्यले हामीलाई के दिएको छ ?’

केही समय अगाडि भरतपुर कृषि क्याम्पसमा कृषि सम्बन्धि वहस भइरहेका बेला त्यहाँका डिनले भने राज्यले हामीलाई के दिएको छ। उनलाई कार्यक्रममा  विद्यार्थीले सोधेका थिए, यहाँ कम पढाउने र धेरै समय विभिन्न गैर सरकारी संस्थाहरुमा कन्सल्टेन्सीमा बिताउने किन गर्नुहुन्छ ? उनले भने हामीलाई राज्यले दिने भनेको त्यही १८, २० हजारको तलब त हो नि। छिमेकी देशमा हाम्रो जस्तै काम गर्नेले एक लाख भारु पाउँछन्। धन्न स्वयसेवक जस्तो भएर पढाइएको छ।

अर्को एक कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका एक चिकित्सकलाई पनि तपाइहरूको ध्यान सरकारी अस्पतालमा भन्दा निजी अस्पताल र क्लिनिकमा किन हुन्छ भन्दा ठीक यस्तै जवाफ दिएका थिए, राज्यले हामीलाई के दिएको छ ? ती दुबै जनाको ’boutमा सोधखोज गर्दै जाने हो भने पक्कै पनि पत्ता लाग्छ दुबै जना सरकारी छात्रवृत्तिमा विदेश पढेर आएका हुन्।

कर्णाली अञ्चलको जुम्ला सदरमुकाम पुग्दा पनि स्थानीयबासीले त्यही भन्दै थिए राज्यले हामीलाई के दिएको छ। घर नजिकै बिजुलीको पोल गाडिसकेपछि पनि केही गाउँले टुकी बालेर बसिरहेका थिए। यहीँ बिजुलीको पोल छ किन घरसम्म तार तानेर बिजुली बाल्नुहुन्न भनेर सोध्दा तिनको उत्तर थियो, ‘यो त हाज्याले दिन्या कुडा हो। हामी दुखीकन हाज्याले हेड्नु पड्छ।’

जुम्लामा किन विकास नभएको भन्ने विषयमा बहस हुँदै गर्दा सबैले राज्यले हामीलाई हेप्यो, नेताले पैसा नै ल्याउँदैनन् भनेपछि एमालेका सभासद देवीलाल थापालाई साह्रै रिस उठेछ क्यारे। उनले स्थानीयबासीलाई पनि दोष दिदैं भने ‘२० लाख खर्च गरेर पानी ल्याइदिएको अब धारामा टुटी बिग्रिएपछि एउटा टुटी पनि नफेरेर त्यो ट्याङ्की पनि प्रयोग गर्न छाडेर बिचैमा पाइप काटेर पानी लिन थालेपछि त्यस्को दोष नेता र राज्यलाई मात्र कति दिने स्थानीय बासी पनि अलिकति सचेत हुन पर्यो नि।’

एकजना साथी मुगु पुग्दा स्थानीय सरकारी कर्मचारीले चियापसलमा सोही कुरा भनेछन्, ‘राज्यले कर्णालीलाई हेपेको छ।’ कसरी तपाई हेपिनुभयो त भनेर सोध्दा ती कर्मचारीले जवाफ दिएछन्, ‘बाटोघाटो छैन। धेरै मानिस अशिक्षित छन्। अस्पताल छैन। खाद्यान्नको अभाव छ।’

प्रत्युत्तरमा साथीले ‘हामीले ५० रुपैयाँ किलो हालेर खाने चामल तपाइहरुले अहिले पनि २५ रुपैयाँ किलोमा पाइरहनुभएको छ। हाम्रो तिरको बाटोघाटो पनि उही सरकारले गाविसमा दिने बजेटमा श्रमदान र अपुग पैसा थपथाप गरेर बनाइएका हुन्। गाविसमा बजेट तपाइका नि आउँछ। अब स्वास्थ्य चौकीको कुरा गर्ने हो भने डाक्टर र औषधि हामीले पनि धेरैजसो देख्न पाइदैंन। कर्णालीमा जस्तो एक घर एक रोजगार हाम्रोमा छैन, तपाइहरुकोमा जस्तो जडिबुटी हाम्रोतिर पाइदैंन। अब कुरा तपाई आँफै बुझ्नुहोस् राज्यले मात्र होइन प्रकृतिले पनि हामीलाई दिएको छ कि तपाइलाई दिएको छ ?’ तैपनि ती कर्मचारीले भन्न छाडेनन् रे ‘राज्यले हामीलाई के दियो त ?’

राज्यलाई कुरेर बस्नु भयो भने तपाइको उमेरमा तपाइको नातिले पनि यही भनिरहेका हुन्छन् भनेर ती मित्र त्यहाँबाट हिडेछन्।  अब सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विदेश पढेर आएकाले नै राज्यले हामीलाई के दियो त भन्छन् भने कर्णालीकाले भन्नु स्वभाविकै हो। ती डाक्टर हुन् कि प्राध्यापक दुबै राज्यले बनाइदिएको सडकमा मोटर हाँक्दै कुद्छन्। होला, आँफैले कमाएका पैसाले गाडी किने होलान् तर राज्यले थोरै नै सही त्यही बाटो पनि नबनाइदिएको भए कहाँ गाडी कुँदाउथे होलान्।

काठमाडौंका धेरै ठूला घर गाडी हुने धनीमानीले पनि यही भन्छन्- राज्यले हामीलाई के दिएको छ। वर्षामा घर नजिकैको खाल्टाले मोटरसाइकल, गाडी लान ल्याउन जति असजिलो भए पनि दुई तीन ट्याक्टर गिटी झार्नुको सट्टा ‘राज्यलाई हामीले तेत्रो ट्याक्स तिरिन्छ राज्यले पो गिटी खसाउन पर्छ’ भन्दै हिड्छन्। त्यसो भन्नेले घरबहाल कर पक्कै तिरेका छैनन्।

यो नेपालीमा लागेको रोग नै भइसक्यो कि राज्यलाई मैले के दिएँ, के दिइराखेको छु भनेर कहिल्यै नसोच्ने, नसोध्ने जहिले पनि राज्यले हामीलाई के दिएको छ त भनेर सोध्ने। राजनीतिक दलका घोषणा पत्र हुन् कि नेताहरुको भाषण जहिले पनि हामीले तपाइहरुका लागि यस्तो गरिदिन्छिम् उसो गरिदिन्छम् भनेर भाषण मात्र गर्दा पनि जनता धेरै आशे भएका हुन्। राजनीतिक दल, विकासे संस्था र नेताहरुले देखाएका सपनाबाट जनतामा यस्तो छाप परिसकेको छ कि सबै काम राज्यले नै गरिदिनेरहेछ, हामी त बसेर खाने  न हो।

फेरि अधिकारका नाममा जनतालाई यति धेरै अधिकार तिमीहरुले राज्यबाट पाउँछौ भनिएको छ कि मानौं हामी नेपालमा नभएर नर्वे, डेनमार्क, स्विडेन अथवा स्विट्जरल्याण्डमा छौं। हुन पनि नेताहरुले नेपाललाई स्विट्जरल्याण्ड बनाउँछौं भनेर भनिरहेकै छन्। हामीलाई अहिलेसम्म यो भनिएको छैन कि नर्वे, डेनमार्कले राज्यको तर्फबाट जनतालाई सुविधा दिने स्थितिमा पुर्याउन त्यहाँका जनताले के त्याग र बलिदान गरेका थिए।

सन् १९५० को दशकसम्म नर्वेमा पनि त्यस्तो उम्दो केही थिएन। नर्वेलीहरु आफ्नो देश छाडेर अमेरिकातिर बसाई सरिरहेका थिए। धन्न हो नर्वेले सन् १९६४ मा युरोपमै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको खानी भेट्टायो। त्यही पेट्रोलियम पदार्थबाट नर्वे धनी भयो र त्यहाँ राज्यले जनतालाई धेरै कुरा पुर्याइदियो। पहिले अमेरिका पुगेका नर्वेली मध्ये कतिपय नर्वेले विकास गरेपछि स्वदेश फर्किदाँ तिनलाई फर्कन दिन हुन्छ कि हुँदैन भनेर पनि नर्वेमा विवाद भएको थियो। अझै पनि नर्वेका हुनेखानेले ४० प्रतिशत ट्याक्स तिर्छन्।

राज्यले धेरै दिन्छ भनेको देशका जनताले आफ्नो तर्फबाट पनि के गरेका छन् त भनेर बुझ्न जरुरी छ। कसैले बाटामा फोहर फाल्दैन तब न विदेशका सडक सफा हुन्छन्। सिंगापुरमा चुइगम खाएर बाटामा थुक्ने हिम्मत हामीले गर्दैनौं तर यहाँ आएपछि बाटामा चाउचाउको खोल फाल्छौं र भन्छौं राज्यले सडक सफा गरेन।

देश निर्माणका अहिलेको बेला सबै काम राज्यले गरिदिने हो, हामी हात बाँधेर बस्ने हो हामीलाई ल्याएर राज्यले खुवाइदिनुपर्छ, चुठाइदिनुपर्छ भन्ने भावना सबैको मन माथिङ्गलबाट नहटाउने हो भने देश निर्माण हुने कुराको कल्पना नगरे पनि हुन्छ। नेताहरुलाई दोष दिँदा दिँदा नेताहरुले आजभोलि हामी पनि यही समाजबाट आएका हौं, मङ्गल ग्रहबाट आएका होइनौं, तपाइहरु जस्तो त हौं नि भनेर दायित्वबाट पन्छिन खोजिरहेका छन्।

यो बेलामा जनता आँफैले उदाहरण बनेर केही गरेर नेताहरुलाई लज्जित बनाउन पनि पर्ने अवस्था छ। अब शिक्षकले पनि मलाई राज्यले के दिएको छ त भनेर पढाउन छाड्ने, चिकित्सकले पनि त्यही गर्ने इन्जिनियरले पनि त्यही गर्ने हो भने देशको विकास कसरी हुन्छ।

४० वर्ष अगाडिसम्म दक्षिण कोरियाको स्थिति नेपालको भन्दा कमजोर थियो। हो त्यहाँ चमत्कारिक नेतृत्व पायो। महिलाले आफूले लगाएका गर गहना धरौटीमा राखेर विकासका लागि खटे। त्यसैले अहिले कोरिया विश्व अर्थतन्त्रमा कहाँ पुगिसक्यो हामी कहाँ छम्। हामीले पनि नेतालाई गाली गर्नुका साथै स्थानीय स्तरबाट पनि केही गरेर लउ तिमीहरुले के गर्यौ हामीले यसो गर्यौं भनेर भन्नुपर्ने बेला आएको छ।

छिमेकी चिनले यति विकास गर्यो उति विकास गर्यो भनेर जताततै गफ सुनिन्छ। त्यहाँका जनताले पनि राज्यले हामीलाई के दिएको छ त भनेर बसिरहेको भए के त्यस्तो विकास संभव थियो होला। चीनियाँहरु दिनरात काममा खटेका छन् र पो विकास भएको छ।

गाउँका भट्टीमा चुड्कि बजाउँदै देश बिग्रिसक्यो। नेताहरुले खत्तमै पारिसके भन्दै तास ठटाउनेहरु पनि थुप्रै छन्। किन हो यसरी समय फालिरहनुभएको भनेर सोध्ने हो भने तिनले पनि त्यही भन्छन् –  राज्यले हामीलाई के दिएको छ र कामै पाइदैंन। राज्यलाई आरोप लगाउनुको सट्टा वर्षमा ८/१० वटा बाख्रा पाठा मात्रै पनि तिनले उत्पादन गरिदिने हो भने तिनले त पैसा कमाउँथे कमाउँथे मासु खरिदका लागि विदेश पैसा जानबाट पनि रोकिन्थ्यो।

हामी २/४ रोपनी खेतबारी हुने नेपालीले पो राज्यलाई कति दिन्छौं र त्यही वर्षको दुई चार सय तिरो तिर्ने त हौं नि। राज्यले गाउँगाउँमा विद्यालय खोलिदिएको छ। १० कक्षासम्म विद्यार्थीले निशुल्क शिक्षा र पुस्तक समेत पाउँछन्। हामी सरकारी स्कूललाई कसरी राम्रो बनाउने भन्दा पनि हामी आँफै कसरी छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउने भन्ने ध्याउन्नमा छौं। गाउँगाउँमा स्वास्थ्य चौकी सम्म भए पनि पुगेको छ। डाक्टर ओखती चाहिएको बेला पाइदैंन भन्ने हाम्रो मनस्थितिमा नै यसरी घुसेको छ कि त्यसलाई कसरी पाउने गराउने भनेर  सोच्न कमै समय लगाउछौं।

बुढाबुढी, विधवा, लोपोन्मुख जाति, अपाङ्ले थोरै नै सही राज्यबाट मासिक पाँच सय रुपैयाँ र कसैले त्यो भन्दा धेरै भत्ता पाइरहेका छन्। विदेशमा ट्याक्स तिरे फिर्ता पाइन्छ, यहाँ मैले किन ट्याक्स तिर्ने भन्नेहरुले बुझ्नुपर्ने हो, के नेपालमा अहिले भत्ता पाइरहेका जति सबैले तेत्रो मात्रामा ट्याक्स तिरेका थिए होलान्।

अचम्मको कुरा त  जो अलिकति समाजको जान्ने बुझ्ने भनिएर चिनिएको हुन्छ उसैले भनेको हुन्छ राज्यले हामीलाई के दिएको छ त। गाउँमा विकास निर्माणका लागि छुट्टयाएको पैसामा पाएसम्म अलिकति भए पनि कमिसन खाने पनि तिनै हुन्छन्। आफूले केही नगर्ने,  राज्यलाई आफूले केही नदिने, दोषजति राज्यलाई दिने परिपाटी रहेसम्म राज्यले पनि हामीलाई केही दिन सक्दैन।

(हिजो साँझ मैले ज्यादै आदर गर्ने एक जना दाइसँग गफ गर्ने मौका मिल्यो। उनकी ७ वर्षीया छोरी मस्तिष्क पक्षघातबाट पीडित छन्। राज्यले तिनका छोरीका लागि मासिक एक हजार भत्ता दिदो‌ रहेछ। मासिक आय कम नै भएका तिनले कर सायद १ प्रतिशत मात्र तिर्छन् कि, उनले अहिलेसम्म तिरेको कर त ती छोरीले दुई वर्षको अवधिमा नै पाइसकिन् होला। उनले पनि राज्यले हामीलाई के दिएको छ र भनेर निकै गुनासो गरे, तिनै दाइ हुन् यो ब्लग लेख्ने प्रेरणा। बिबिसी मिडिया एक्सनको कथा मिठो सारङ्गीको नाटक श्रृखंलाका सहकर्मी खगेन्द्र लामिछानेले यो लेख्न धेरै सहयोग गरेका छन्। )

दीपक भट्टराई

दीपक भट्टराई साझा सवालका सम्पादक हुन्