‘माइग्रेन्ट’, ‘माइग्रेन’ की ‘माइ-ग्य्रान्ट’ वर्कर्स?
म अंग्रेजी उतिसारो जान्दिन । कनिकुथी बोल्छु काम चलेकै छ, भन्या छु । नेपाली पनि उतिबिघ्न कहाँ जान्दछु र ? नेपाली भैकन पनि शुद्ध नेपाली भाषा लेखपढ गर्न जान्या नाईँ ।
मैले संगत गर्ने आधिकांशले पनि शुद्ध नेपाली भाषा जान्दैन्न भन्ने मलाई लागिरहन्छ । बोल्दा शुद्ध भैहाल्यो भने पनि लेख्नेबेला धेरैको हबिगत थाहा भैहाल्छ । हुनत हाम्रा प्राज्ञहरु भाषाका विज्ञ/विद्वानहरुनै कतिपय शब्द र वर्णविन्यासमा एकमत छैनन् भने हामी कसरी हुनसक्छौं र ?
नेपाली बोलीचालीमा अंग्रेजी र हिन्दी सराबरी हुँदै गइरहेकाछन हिजोआज । फरक उच्चारण हुँदा उही शब्दले कति परक अर्थ लाग्छ भन्नेकुरा हामीले उतिसारो हेक्का राख्छौ झैं मान्दिन म ।
त्यस्तै एउटा अंग्रेजी शब्द सुन्दा हैरान हुन्छु म, कुन परिवेशमा त्यसको अर्थ बुझ्ने भनेर । हुनत यो अलिक बढी सरकारी र गैह्रसरकारी संस्थाहरुले र टाठाबाठा र मैजस्ता बोल्दैगर्दा अंग्रेजी दुईचार शब्द घुसाएर आफ्नो विद्वता देखाउन खोज्नेहरुले बढी प्रयोग गर्ने शब्द हो । यद्यपी यो आजको परिस्थितिमा हाम्रो देशकै एकचौथाई आम्दानी/अर्थतन्त्र धानेकाहरुको कुरासँग जोडिएको, अनि जो बिरानो मुलुकमा श्रम बेचेर आफ्नो र मुलुककै सम्बृद्दिका लागि ओभरटाइम गरिरहेकाछन् । जो कतारको मरुभूमी बीच ऊँट र भेंडा चराइ बसेकाछन् ।
कोही बहुतल्ले बिल्डिंगमा जोखिमपूर्ण काम गरिरहेका छन्, खुल्ला आकाशमुनी चिहानको चौकिदारी गरिरहेका छन् । मलेशियाको बाफिलो कारखानामा आफ्नो र परिवारको भविष्य बनाउन १२ देखि १६ घण्टा खटिरहेको छन् । बिरानो मुलुकमा आफ्नो भविष्य बनाउन भरमग्दुर प्रयास गरिरेकाछन् । कोही एकैसमयमा कायल हुन्छ । कोही पटक पटक, फरक फरक देश पुग्छन । हो यिनै अरुको मुलुकमा निश्चत समयकालागि काम गरी फर्कने ‘आप्रवासी श्रमिक’ जो सबैतिरबाट (भाग्य) ले पनि ठगेका मान्छेहरुलाई अंग्रेजीमा ‘Migrant workers’ माइग्रेण्ट वर्कर भनिन्छ । तर भन्दै गर्दा बोली फरक पर्दै जान्छ अनि कसैले ‘माईग्रेन वर्कर’ भन्छन् । केहिले ‘माई-ग्राण्ट वर्कर’ । कसैलाई यो ‘माईग्रेण्ट वर्कर’ जो सस्तो फिरन्ते श्रमिक भो, आफुलाई चाहिएको बेला ल्यायो काम सकिएसि फिर्ता गरिदियो । जुन श्रमिकप्रति काम लगाउने कम्पनी र उक्त मुलुकको दिर्घकालीन दायित्व रहँदैन ।
कामदार आफ्नैलागि चाहिँ ‘माईग्रेन वर्कर’ भए । ‘माईग्रेन’ अर्थात अत्याधिक टाउको दुख्ने, टाउको रिंग्याउने एकप्रकारको रोग । किनकि यो टाउको दुखाई हो । बिछट्टको दुखाई, दुखिरहन्छ । साहुको ऋणले, चर्को व्याजले, बुढो बाउ-आमाको पिरले, पियारीको पिरले, अलिअलि कमाएर बचाएको पनि पियार/पियारीले पोको पारी अन्तै अलप भईदेला पिर । नानीहरुले राम्रो नपढीदेलाकि, तिनको भविष्य बिग्रेला र आफैजस्तो ‘माईग्रेन वर्कर’ हुनुपर्ला दुःख पाउला/पाउलिन भन्ने पिर ।
सरकारलाई भने वैदेशिक रोजगारमा जानेहरु माई-ग्राण्ट वर्कर भइरहेका छन् । किनकि अहिलेको अवस्थामा देशको अर्थतन्त्रको एक चौथाई हिस्सा यसैले धानेको छ, त्यो पनि बिना कुनै बिशेष लगानी, नत कुनै झन्झट् । निरन्तर आम्दानी दिइरहेको छ अनि भएन त ‘माई-ग्राण्ट वर्कर?’ मेरो पक्का आम्दानी अनुदान दिने श्रमिक ।
मैले अलिक बढि नै भनें कि ?
(तस्वीरः एकछिन सुस्ताउँदै कतारमा ‘कन्सट्रक्सन’ काम गर्ने नेपाली मजदूरहरू)