टेलिभिजन कार्यक्रम : पर्दाभित्रका हातहरू

हुस्सु लागेको बिहान होस् या पहाडको ठिहिरिलो समय, साथीहरू बिहान ६ बजेभित्र कार्यक्रम रेकर्डिङ स्थल पुगिसकेका हुन्छन् । हामी प्राय: बिहान ९ बजे कार्यक्रम रेकर्डिङ सुरु गर्छौं । त्यसका लागि क्यामरा, केबल, लाइट र साउन्ड टिमका साथीहरू ६ बजे नै हिँडिसक्छन् । सम्भव हुँदासम्म ७ बजे लोकेसनमा बिहानको चिया नास्ता पुग्छ । अरू प्रोड्युसर साथीहरू त्यसपछि लोकेसनमा पुग्छन् ।
म, मेरा सम्पादक र सिनियर प्रोड्युसर साथी केहीबेर सँगै बस्छौँ । स्क्रिप्ट तयार पार्छौं । प्यानलका अतिथिसँग कुराकानीमा हुन्छौँ या अरू तयारीमा । र, ८ बजे हामी लोकेसनमा पुग्छौँ ।
यसबेलासम्ममा अडियन्स टिमका साथीहरू कार्यक्रममा भाग लिन आएका सहभागीसँग सुझाब र प्रतिक्रिया लिँदै गर्नुभएको हुन्छ । सहभागीसँग यो प्रक्रिया चलिरहँदा हलभित्र प्राविधिक टिमका साथीहरूले तयारी पूरा गरिसकेका हुन्छन् । हलबाहिर अडियन्स टिमका साथीहरू सहभागीलाई कार्यक्रम विषयवस्तु’boutमा ब्रिफ गर्दै गर्दा, हलभित्र अरू साथी प्यानलमा रहने अतिथिलाई पनि विषयवस्तु’bout बुझाउन भ्याइसकेका हुन्छन् । र, सुरु हुन्छ ९ बजे ‘साझा सवाल’ रेकर्डिङ ।
टेलिभिजनमा प्रसारण हुने कार्यक्रममाथि हरेक दर्शकलाई आफ्नो अनुकूल हेर्ने र त्यहीअनुसार विश्लेषण गर्ने छुट हुन्छ । स्वाभाविक हो दर्शक टन्न अघाएर ओछ्यानमा अडेसिएर अमुक कार्यक्रम हेरिरहेको हुन सक्छ । उसलाई थाहा नहुन सक्छ र मतलब पनि हुन्न, त्यो कार्यक्रम तयार हुन प्रस्तोता वा रिपोर्टरले कुन हन्डर पार गरेको हुन्छ, वा कस्ता बाधा नाघेको हुन्छ ? दर्शकलाई रिपोर्टमा भिजुअल सट मिल्यो/मिलेन भन्न सजिलो हुन सक्छ तर रिपोर्टरले बेलामा क्यामेरा नपाएको वा क्यामेरा बिग्रिएको वा गाडी नभएर समयमा पुग्न नसक्दा मौका गुमाएको हुन सक्छ । जुन कुरा दर्शकलाई थाहा हुन्न र त्यो उसको चासोको विषय पनि होइन । यो छोटो लेखमा म प्रस्तोताको दृष्टिबाट एउटा टेलिभिजन कार्यक्रम तयार हुने अवस्थासम्मको संक्षिप्त चित्र प्रस्तुत गर्ने कोसिस गर्दै छु ।
कार्यक्रम प्रसारणपछि प्रस्तोताका हिसाबमा मसम्म आइपुग्ने प्रतिक्रियाहरू थुप्रै किसिमका हुन्छन्, कार्यक्रम राम्रो थियो, आँखा राम्रो थियो वा पहिरन मिल्यो/मिलेन, विषयवस्तुमाथि बहसमा न्याय हुन सक्यो/सकेन, उचित सहभागी छान्न सकियो/सकिएन आदि । अर्को एकखाले प्रतिक्रिया यतिखेर महत्त्वपूर्ण ठान्छु उल्लेख गर्न– यति धेरै विषयमा कार्यक्रम चलाउन, ती विषयका विज्ञहरूसँग सवालजवाफ गर्न कसरी सक्षम हुने ? कसरी ती सबै विषय’bout जानकारी राख्ने ? पत्रकारिताका विद्यार्थीबाट यस्तो जिज्ञासा म धेरै पाउने गर्छु ।
‘साझा सवाल’ प्रस्तुत गर्दाको पाँच वर्षभन्दा बढीको अनुभवले हामीलाई अब्बल बनायो भनेर दाबी गर्न खोजिएको होइन तर एउटा कुरा प्रस्ट न्न सक्छौँ– पत्रकारिताको पेसागत निष्पक्षतालाई हामीले सकेसम्म अभ्यास गर्ने कोसिस पक्कै गरेका छौँ, हामीसँग भएका स्रोतको सिर्जनशील उपयोग गर्ने प्रयास गरेका छौँ । र, त्यसले हामीलाई नेपाली रेडियो र टिभी पत्रकारिताको राम्रो अभ्यासकर्ताको दर्जा पक्कै दिएको छ ।
कार्यक्रम तयार पार्न हामीसँग सानो रिसर्च टिम छ, जसले प्रत्येक साता हुने विषयका ’boutमा केही न केही जानकारी खोजबिन गर्छ । तथ्य संकलन गर्छ । सम्बन्धित विषय’bout देशमा मौजुदा कानुनी प्रावधान, ऐन नियम र निर्देशन, अदालती फैसला र नजिर, सम्भव भए हाम्रोजस्तै अवस्थामा रहेका विश्वका अरू देशका अभ्यास, त्यस विषयमाथि समाजका कुनै व्यक्तिले गरेको टिप्पणी आदि खोज्ने प्रयास हामी गर्छौं । कहिलेकाहीँ सम्बन्धित विज्ञ वा विषेशज्ञसँग भेट्छौँ । त्यस्तो भेटले थुपै्र भित्री जानकारी पनि प्राप्त हुन्छ र यसरी खोजिएका कुराहरूको ‘ब्रिफ नोट’ तयार हुन्छ । त्यसका आधारमा सुरु हुन्छ ‘स्क्रिप्टिङ’ ।
नेपाली टेलिभिजन प्रस्तोताहरू खालीहात स्टुडियोमा गएको पनि टिभीमा प्रशस्तै देख्न पाइन्छ । पर्दामा प्रस्तोतालाई खालीहात दमदार प्रश्न गरेको देख्दा दर्शकलाई लाग्न सक्छ ‘क्या स्मार्ट छ यो मान्छे ।’ तर, मलाई के लाग्छ भने प्रस्तोतासँग स्क्रिप्ट हुनु भनेको कार्यक्रम अझ खँदिलो हुनु हो । कुनै पनि प्रस्तोता त्यति स्मार्ट हुन नसक्लान्, जसले कुनै तथ्य, तथ्यांक परेको बेला हुबहु सम्झेर भन्न सकोस् वा आधिकारिकताका लागि कुनै अंश उद्धृत गर्नुपर्‍यो भने जस्ताको तस्तै भन्न सकोस् । मेरो विचारमा ‘म कति तगडा छु’ भन्ने देखाउन सायद प्रस्तोताहरू खालीहात क्यामेराअघि उभिन्छन् । तर, यस्तो अभ्यासले उनीहरू आफैँलाई हानि गरिरहेको हुन सक्छ, आफ्नै साख खसालिरहेको हुन सक्छ ।
अब कुरा आउँछ, सोधिने प्रश्न कस्तो हुनुपर्छ ? प्रश्न जस्ता पनि हुन सक्छन् । र, जस्तो प्रश्न छ जवाफ त्यस्तै आउन सक्छ । कस्तो प्रश्न उचित ? भन्ने कुरामा पत्रकारिता अभ्यासकर्ताबीच लामो बहस हुन सक्ला । तर, मेरो अनुभवमा टेलिभिजन वा रेडियोको कार्यक्रम हेरिसकेपछि दर्शक वा श्रोताले अधिकांशत: तीनवटा पक्षको मात्र सम्झना गर्छन्, उसको जीवनसँग जोडिएको प्रसंग, उसलाई घत लाग्ने र रुचिका विषयवस्तु र हाँसो छुटेको प्रसंग । यसबाहेकका अरू प्रसंग कार्यक्रम हेरिसकेपछि तपार्इं पनि ख्याल गर्नुस्, खासै याद हुन्न । त्यसैले सकेसम्म प्रश्नहरू कुनै न कुनै हिसाबले मानिसको जीवनसँग जोडिएको हुन सक्यो भने सायद दर्शकले त्यो कार्यक्रम हेर्लान् भन्ने म अनुमान लगाउँछु ।
अन्र्तवार्ताको जवाफ कति लामो समयसम्म लिने भन्ने कुरा गर्दा ‘वाचन शिरोमणि’ भनेर धेरैले मानेका पण्डित नारायण पोख्रेलको भागवत वाचन र भजनको संयोगको सम्झना हुन्छ । घन्टौँ लगातार पण्डितले बोलिरहने एकोहोरो वाचन प्रणालीलाई उनले ‘ब्रेक’ गरे । १५–२० मिनेटको वाचनपछि भजन सुरु गर्ने चलन चलाए । त्यो ‘ब्रेक’ले सुन्ने कुरामा विविधता दियो । उनको वाचन सुन्न मानिसहरूलाई झन् प्रेरित गरायो ।
यसको अर्थ अन्तर्वार्तामा पनि १५–२० मिनेटसम्म एकजनाको जवाफ लिइरहनुपर्छ भन्ने होइन । हामी के अभ्यास गर्दैछौँ भने एकपटकमा एकजनाले लगातार २ मिनेटभन्दा बढी नबोलोस् । त्योभन्दा बढी बोल्दा दर्शकलाई अरुचि हुन सक्छ । च्यानल फेरिन सक्छ । जतिसुकै मेहनत गरे पनि दर्शकले कार्यक्रम हरिदिएन भने मेहनतको के अर्थ हुन्छ
यहाँनेर प्रसंग निकालौँ ‘कसरी सबै विषयमा प्रश्न सोध्न सकेको ?’ भन्ने मानिसहरूको प्रश्नको । एउटा प्रस्तोता तपाईंको टेलिभिजन पर्दामा देखिने बेलासम्म थुप्रै चरणहरूमा ‘स्क्रुटिनी’ भएर आएको हुन्छ । उसका पछाडि कति हातहरूले काम गरेका हुन्छन् । र कुनै अमुक कार्यक्रम त्यस्तो बन्छ ।
एउटा विडम्बना छ नेपाली टेलिभिजनको दुनियाँमा । टिभी स्टेसनहरू धेरै खुलेका छन् । तर, धेरैको गुणस्तरमा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ छ । त्यसमा लगानी पर्याप्त छैन वा विज्ञ र अनुभवीहरूको अभाव छ । यो अवधिको अनुभवले मलाई के सिकाएको छ भने नेपालमा राम्रो टेलिभिजन कार्यक्रम तयार पार्न हलको अभाव छ । त्यसभन्दा अभाव लाइट व्यवस्था गर्नसक्ने जनशक्तिको । अझ अभाव चाहेजस्तो ‘सट’ खिच्न सक्ने क्यामरा पर्सनको रहेछ । पढेका र क्षमता भएका त्यस्ता क्यामेरा पर्सनहरू आफ्नै प्रोडक्सन हाउस खोलेर डकुमेन्ट्री र म्युजिक भिडियोतिर लाग्दारहेछन् । अनि बजारमा अधिकांश सालाखाला मानिसहरू मात्र हुने रहेछन् ।
जे भए पनि आशा गरौँ टेलिभिजन कार्यक्रमपछाडि यति धेरै हातहरूले सघाए जसरी छिट्टै नै नेपाली टेलिभिजन कार्यक्रमहरूको स्तर पनि अझ माथि उठ्नेछ ।

नारायण श्रेष्

नारायण श्रेष्ठ पूर्व साझा सवालकर्मी हुन्