खैकु ! खैकु !!

ठेगानाः सगरमाथा अञ्चल, सिराहा जिल्ला, धनगढी गाविस – सोनापुर गाउँ !

५४ वर्षिय खैकु सदाको झुपडी । माटोका भित्ता अनि खरको छानो । दुई कोठा । एउटा भान्सा अनि अर्को सुत्ने – बस्ने जे जे भने पनि ! तल भुइँमा गुन्द्री ओच्छाईएको । कुनामा एउटा मैलो सिरक र माटो लागेका केही लुगाहरु । श्रीमती मानकी खाना पकाउने तयारीमा छिन् । माटोको चुल्हो । काला भइसकेका सिलिवरका भाडाहरु । कुच्चिएको लोटा । भान्सा कोठाको पश्चिमपट्टीको भित्तामा टाँगिएको एउटा प्लास्टिकको झोलामा ५-६ वटा आलु छन् । श्रीमान् खैकुले एक, दुई, तीन गन्दै तीनवटा आलु निकाले । श्रीमतीले “एउटा राख्नु, अहिलेलाई दुईटा भए पुग्छ” भनेर राख्न लगाइन् । बेलुका र सकेसम्म भोलिसम्म पुर्याउने उनको दाउ छ ।

कोठाभरी धुँवै धुँवा भयो । मानकी घरी घरी पराल हालेर आगो दन्काउथिन्! तर छिनमै फेरी उही धुँवा ! मलाई देखेपछि खैकु मुसुक्क हाँसे – “अहाँ सव चैल एलिय । हमरा वेर भगैल काममे जाईल ।” (तपाईहरु आईपुग्नु भयो – मलाई काममा जान ढिला भइसक्यो ।) हतार हतार गुन्द्री तानेर मलाई बस्न आग्रह गरे । उनको श्रीमति आगो निभाएर मतर्फ पानी लिएर आइन् । तराईमा घरमा कोही नयाँ मान्छे वा पाहुना आयो भने पानीले स्वागत गर्ने चलन छ । एकैछिन पछि खैकुले माथि बुइँगलमा गएर कुनै कुनामा खाँदेर राखेको प्लास्टिकको पोका निकाले । मैले के रहेछ भनेर उत्सुकताका साथ हेरे — त्यसमा नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजात रहेछन् । उनले चुनावमा भोट हालेका कुरा सुनाए – अनि दुःख सुनाउन थाले ।

“हजुर, वर्षौं भइसक्यो काम गर्न थालेको कहिले ऋण तिरी सकिएन । सोध्छु कति ऋण छ त्यो पनि भन्दैन । हामी सवैजना विहान ४ वजे देखी राती ८ वजेसम्म काम गर्छौं तर ऋण ज्युँको त्युँ छ ।” खैकु थप्दै गए, “५० हजार ऋण लिनु भएको थियो रे हाम्रा बा ले, अनि पछि म आफैले पनि श्रीमती र वच्चा विरामी हुँदा ऋण लिए । तर खै जति काम गरे नि तिर्न सकिएको छैन ।”

एक कुनामा बसेकी खैकुकी श्रीमती मानकीले आफ्नो ससुरा पनि साहु राजुको घरमा मरेको र आफूहरू पनि त्यही मर्ने सुनाइन् । निराशाको लामो सास फेर्दै भनिन्, “न कहिले ऋण तिरीसकिन्छ, न कहिले मुक्त भइन्छ । तिर्न पनि कसरी सक्छौं र? बाहिर कतै काम गर्न दिदैंन, तिमीहरूले यही काम गरेर ऋण तिर्नु पर्छ भन्छ । तपाई आफै भन्नुस् न, दिनको डेढ किलो धान दिएर कहिले ऋण तिर्न सकिन्छ?” प्रश्न गरिन् ।

पत्रकारिताको दौरानमा मैले धेरै खालका ‘रिपोर्टिङ’ गरेको छु र विभिन्न खालका अनुभति पनि संगालेको छु । यो पनि अलि फरक नै थियो । खैकुको कुरा सुन्दा र उनको परिवारको अवस्था हेर्दा मलाई पनि नरमाइलो लाग्यो । अनि उनले ऋण तिर्न नसकेको भनेका मालिक प्रति रिस पनि उठ्यो । एकछिन अवाक भए! तर, म त्यहाँ बधुँवा मजदुरको अवस्था कस्तो रहेछ भनेर साझा सवालको लागि रिपोर्ट तयार गर्न पुगेको थिएँ । आफुलाई सम्हालेर खैकु र मानकीको कुरा सुन्न थाले ।

खैकुसँग कुरा गरिसकेपछि म खैकुको साहु राजु यादवलाई भेट्न गएँ । राजुको भनाई बेग्लै थियो । खैकुले भनेका सबै कुरा झुठा हुन् भनेर राजुले भने – “मैले आफ्नै काका जस्तो गरेर राखेको छु । यहि खान्छ, बस्छ अनि काम गर्छ। अनि जान चाह्यो भने जान पनि सक्छ मैले कुनै रोकतोक गरेको छैन । ऋण सोध्ने त कुरै छैन नि ।”

राजुको कुरा सुन्दा लाग्थ्यो- राजु जस्तो उदार मान्छे सायदै होला यो दुनियाँमा । तर राजुको कुरा सुनिरहेका खैकुको अनुहारमा भने एक किसिमको रिस झल्किरहेको थियो । राजु हिड्ने बित्तिकै खैकु जँगिए, “राजु झुटो बोलिरहेछ ।” त्यसो त राजुले पनि खैकुको कति ऋण छ भनेर हामीलाई बताउन चाहेनन् ।

खैकुसँगको भेट एउटा संयोग नै थियो । साझा सवालमा सरकारले मुक्त घोषणा गरेका बँधुवा मजदूरको ’boutमा एउटा अनुसन्धनात्मक रिपोर्ट गर्नुपर्ने जिम्मेवारी ममा आइपुग्यो । करीव तीन हप्ता म यताउता खोजी गर्न थाले । सरकारले विभिन्न समयमा कमैया, हलिया, कम्लहरी तथा हरुवा चरुवा लगायतलाई मुक्त गर्यो भने अन्तरिम संविधानमै बँधुवा मजदुर प्रथा गैरकानुनी भएको उल्लेख गरियो । नेपालको संविधानले नै बँधुवा मजदुर प्रथा गैरकानुनी भएको भने पनि विभिन्न ठाउँमा त्यस्तो भइरहेको कुरा सञ्चारमाध्यममा आईरहेका थिए । हालै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रकाशित गरेको प्रतिवेदनले पनि नेपालको कृषि क्षेत्रमा रहेका बँधुवा मजदुरको अवस्था दर्दनाक रहेको उल्लेख गरेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) को अवसरमा मुक्त भनिएका बँधुवा मजदुरहरूको अहिलेको अवस्था कस्तो छ त भनी एउटा मन छुने कथाको खोजीमा लागें । करीव दुई साताको निरन्तर प्रयासपछि मैले पुर्वमा रहेको हरुवा चरुवा’bout रिपोर्ट गर्ने निधो गरे र साझा सवालका सम्पादकलाई प्रस्ताव गरे । अरु बँधुवा मजदुरहरुको कुरा छापामा आएको भए पनि हरुवा चरुवा’bout त्यति धेरै रिपोर्टिङ भएको भने थिएन । अनि म मेरो रिपोर्टको तयारीमा लागे । सरकारले मुक्त गरेपनि गैरकानूनी रूपमा बँधुवा मजदूर राखिएको हुनाले बीबीसीको कानूनी एकाईसँग पनि परामर्श लिनु जरूरी थियो । एक सातापछि मेरा सम्पादकले मलाई रिपोर्टिङमा जान अनुमति दिए । सहकर्मी मेघराज रसाइलीसँग म सिराहातर्फ लागे । स्थानीय व्यक्ति र संस्थाहरूसँगको सल्लाहमा म पहिले झमेलिया पासवानको कथा समेट्ने तयारीमा थिए । काठमाडौं छोड्दासम्म पासवान नै मेरो रिपोर्टका पात्र थिए । तर, सिराहा पुगेपछि उनको भन्दा अझ दर्दनाक कथा भएका खैकु सदा स्थानीय भुमि अधिकारकर्मी राजकुमार पासवानको सहयोगमा भेटिए । मेरो उत्पादन टोलीसँगको परामर्शमा मैले तीन दिनसम्म खैकु, उनको परिवार र उनले गर्ने कामलाई पछ्याएर रिपोर्ट तयार गरे ।